डोल्पा । हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र दुई बच्चासहित तीनवटा हिउँ चितुवा एकैसाथ देखिएका हुन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा करिब ४० मिटरको दूरीबाट तीन वटा हिउँ चितुवा देखेको बताए ।
साँझ ५ बजेर ५३ मिनेटमा बाटोमा हिँडिरहेका बेला अचानक हिउँ चितुवा देखेपछि नेपालीले तत्कालै मोबाइलबाट फोटो तथा भिडियो खिचेका थिए । उनका लागि हिउँ चितुवा देखेको यो पहिलो अनुभव भएको पनि सुनाए ।
दुर्लभ वन्यजन्तुलाई एकैपटक तीन वटा देखेपछि खिचेको भिडियो उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा चर्चित बनेको छ । भिडियो १२ लाखभन्दा बढी पटक हेरिएको छ भने २८ हजारभन्दा बढीले लाइक गरेका छन् ।
शे–फोक्सुण्डोमा ९० हिउँ चितुवाहरु
नेपालमा हिउँ चितुवाको महत्वपूर्ण वासस्थानहरुमध्ये शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज पनि एक हो । ‘हिउँ चितुवा पत्रिका–२०८१’ मा प्रकाशित समाचार अनुशार, क्यामेरा ट्र्याप अनुगमन तथा अध्ययन्को तथ्यांकबाट शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब ९० वटा हिउँ चितुवाहरु रहेको उल्लेख छ ।
उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा दुर्लभ वन्यजन्तु हो । यसको संरक्षणका लागि नेपालका विभिन्न हिमाली क्षेत्रहरुमा अध्ययन्, अनुगमन तथा संरक्षणका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
आहाराको खोजीमा बस्ती र गोठसम्म
पछिल्लो समय आहाराको खोजीमा हिउँ चितुवाहरु मानव बस्ती नजिक पुग्ने तथा गोठमा समेत प्रवेश गर्ने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । यसले हिमाली क्षेत्रमा पशुपालक किसानहरुका लागि मानव–वन्यजन्तु द्वन्द्वको जोखिम बढाएको छ ।
मनाङको नारफु तथा मुस्ताङको समर क्षेत्रमा पछिल्ला केही वर्षमा हिउँ चितुवा गोठमा प्रवेश गरेका घटना अभिलेखमा रहेको बताइएको छ ।
हिउँ चितुवाको प्राकृतिक बासस्थानमा आएको परिवर्तन, आहाराको उपलब्धता तथा मानव गतिविधिको विस्तारसँगै यस्ता घटना संरक्षणका दृष्टिले चुनौतीपूर्ण बन्दै गएका छन् ।
धो तारापमा एकैपटक एक माउ र दुई बच्चासहित तीन वटा हिउँ चितुवा देखिनुले डोल्पाको उच्च हिमाली क्षेत्रमा हिउँ चितुवाको उपस्थिति र जैविक विविधताबारे थप अध्ययन तथा संरक्षणको आवश्यकता औंल्याएको छ ।
दुर्लभ वन्यजन्तुको यस्तो दृश्यले एकातर्फ डोल्पाको जैविक विविधताको महत्त्व उजागर गरेको छ भने अर्कोतर्फ हिउँ चितुवा र स्थानीय समुदायबीचको सहअस्तित्व तथा संरक्षणका लागि थप संवेदनशील हुनुपर्ने सन्देश दिएको छ ।





