काठमाडौँ, ९ भदौ । मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टस हारेर फिल्डिङको निम्तो पाएको छ । यी दुई टोलीबीचको खेल मलेसियामा जारी छ ।
नेपालले एसिसी प्रिमियर कपको तयारीस्वरूप मलेसियाविरुद्ध अभ्यास म्याच खेलिरहेको हो । नेपालले हालै भारतमा १० दिनको प्रशिक्षण सम्पन्न गरेको थियो । जहाँ नेपालले कर्नाटक राज्यस्तरीय टोलीविरुद्ध दुईवटा अभ्यास खेल पनि खेलेको थियो ।
नेपाली टिमले उक्त दुवै अभ्यास खेलमा जित निकालेको थियो । भारतमा अभ्यास सकाएर नेपाली टोली उतैबाट मलेसिया प्रस्थान गरेको थियो । आसन्न एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ । समूह चरणमा नेपालले पहिलो खेलमा भदौ १५ गते बहराइनविरुद्ध खेल्ने तालिका छ । यस्तै, नेपालले समूह चरणमा आयोजक मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध पनि खेल्ने छ ।





