९ भदौ काठमाडौं । बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता शेयर बिक्री खुल्ला गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो निष्काशन छिटोमा भदौ २५ गते र ढिलोमा असोज ५ गतेसम्म बन्द हुने तालिका रहेको छ ।

कम्पनीले सोलुखुम्बुमा १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना निर्माण गरेको छ, जसको प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ रहेको छ । इक्रा नेपालले यस आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

आयोजनाको लगानी फिर्ता हुने साधारण अवधि ५।७८ वर्ष रहेको छ । एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको यस आईपीओमा लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ’मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।